धनगढी : त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर अहिले चर्चा परिचर्चा भइरहेको छ।
कसैले प्रहरीमाथि त कसैले अध्यागमन कार्यालका कर्मचारीमाथि दोष लगाइरहेका छन्।
हिजो (शुक्रबार) दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए।
यसैबीच, नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गर्नु गलत भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरीले गाली खान र सहन सिक्नु पर्ने बताएका हुन्। उनले हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने दिनैपिच्छे मानिस मारिने बताएका छन्।
अध्यागमनमा जे भयो त्यो प्रहरीको उपल्लो नेतृत्व र बिमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि भएको उनको भनाइ छ।
उनले लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा भएको गतिविधिहरूले अन्तर्राष्ट्रिय महत्त्व राख्छन्। अन्तराष्ट्रिय विमानस्थलमा अनुशासित, संयमित, संवेदनशिल, मर्यादित हुनु सबैको दायित्व हो चचाहे प्रहरी या अध्यागमन कर्मचारी। अध्यागमनका अधिकृतले भनेको कुनै कुरा चित्त बुझेन भने प्रहरीले सम्बन्धित निकायमा भन्नू पर्थ्यो। जसका लागि त्यहाँ खटेका या उपस्थित प्रहरीका कमाण्डरले अध्यागमन अधिकृतको कुनै कुराआपत्तिजनक लागे सर हजुरको यो कुरा ठिक भएन भनेर भन्नुपर्थ्यो न कि अध्यागमन अधिकृतलाई कुटपिट गर्ने। सामान्य कुरा पचाउन नसक्ने प्रहरीले भीड नियन्त्रणमा गोली अनावश्यक चलाउँछ र जनधनको क्षति हुन्छ। प्रहरीले गालि खान र सहन सिक्नुपर्छ हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने त कति मानिस मारिन्छन कति दिनै पिच्छे। त्यसैले त्यहा जे भयो त्यो प्रहरीको उपल्लो नेतृत्व र विमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि हो। कुनै पनि हालतमा अध्यागमन अधिकृतलाई हातपात गर्नु हुँदैन थियो। माथिल्ला अधिकृत बसेर अझ मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत सम्मिलित राखेर त्यहाँ के भएको थियो भन्ने कुराको छलफल निकालेर निचोड निकालिनुपर्ने थियो न कि कुटपिट।’