धनगढी – आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा क्रिया (कसम) खाएका छन् ।
आज बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् ।
आफूलाई धनगढीले सब थोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही गर्नुपर्छ भनेर गुन तिर्न नगरप्रमुखमा उम्मेदवारी दिएको हमालले बताए ।
हमालले यसअघि नगरप्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवासुबिधा नलिने घोषणा गरिसकेका छन् ।
आफ्नो बारे विपक्षले बजारमा अनेकन हल्ला खासगरी हमालले जिते लाख होइन सिधै करोडौं भ्रष्टाचार गर्छ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आएर सार्वजनिकरूपमा एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने कसम खाएको हमालको भनाइ छ ।
हमाल यसअघि २०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको नगरप्रमुखमा उम्मेदवारी दिएर झिनो मतले पराजित भएका थिए ।
हमाल सफल व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत हुन ।