धनगढी : त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध बलियो योगफल खडा गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा समेटियो।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए। उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भट्टको बलमा आउट भएका थिए।
८८-६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरेका थिए। बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए।
ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो। उनलाई पाचौं ओभरमा भोजराज भट्टले क्याच आउट गराएका थिए। भिम शार्की पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए।
आइतवार कर्णाली प्रदेश विरुद्ध शतक प्रहार गरेका कप्तान विनोद भण्डारीले आज २ रन मात्र बनाउन सके। भिम र विनोद दुवैलाई भोजराजले नै आउट गरेका थिए।
त्यसपछि आउट हुने ओपनर सन्तोष कार्की थिए। २८ बलमा ५ चौकाको मद्दतमा ३० रन बनाएर उनी १०औ ओभरमा बिकास आग्रीको शिकार बने।
विवेक यादव पनि ४ रन मात्र बनाएर नरेन साउदको बलमा बोल्ड आउट भए। मध्यक्रमका ब्याटर सन्दिप रजालीले ३७ रन बनाएर नरेनको बलमा आउट भए। उनले ४ चौका र १ छक्का प्रहार गरे।
शाहब आलमले २५ बलमा २१ रन बनाएर भोजराजकै बलमा क्याच आउट भए। सोमपाल कामी पनि ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर उनकै बलमा आउट भए।
सुदुरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए। उनले ९.३ ओभरमा १ मेडन सहित ६३ रन दिँदै ६ विकेट लिएका हुन्। यस्तै नरेन साउदले ९ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए। अर्को एक विकेट बिकाश आग्रीले लिएका थिए।
आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ। सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ। दुवै टोलीलाई फाइनल सम्भावना कायम राख्न आज जित्ने पर्ने दवाब छ।