काठमाडौं : तीव्र गतिका बलर जितेन्द्र मुखियाको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै फाइनल नजिक पुगेको छ।
छैटौं जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
जितको लागि २६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १६५ रनमा अल आउट भयो।
सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए। अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
ओपनर खडक बोहरा डक, कप्तान राजु रिजाल ६, नरेन भट्ट १८, प्रकाश पाण्डे ११, गजेन्द्र बोहरा १२, नारायण जोशी १३ र शेर मल्ल २४ रनमा आउट भए।
आर्मीको जितमा जितेन्द्र मुखियाले ६.१ ओभरमा २ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए। सोमपाल कामीले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। साहब आलम, कुशल मल्ल र बसिर अहमदले १–१ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भएको थियो। आर्मीको जितमा कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए।
बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए। एक समय ८८–६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौं विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए।
तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए। भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए।
पछिल्लो खेलमा कर्णालीसँग शतक हानेका कप्तान विनोद भण्डारी आजको खेलमा चल्न सकेनन्। भोजराजको बलमा मिडअनमा किरन ठगुन्नाबाट क्याच आउट हुनुअघि उनले मात्र २ रन बनाए।
१० औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर विकाश आग्रीले सन्तोष कार्कीलाई ३० रनमा एलबीडब्लू आउट गरे। उनले २८ बलमा ५ चौका हाने।
सन्दीप रजाली ३१ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए। बायाँ हाते स्पिनर नरेन साउदले रजालीलाई एलबीडब्लू आउट गरेका थिए।
साउदको बलमा सिनियर टोलीका फिनिसर विवेक यादव साउदकै बलमा ४ रनमा बोल्ड आउट भएपछि आर्मी एक समय १६.२ ओभरमा ८८–६ को अवस्थामा पुगेको थियो।
त्यसपछि भने बसिर र कुशल मल्लको साझेदारीमा आर्मी खेलमा फर्किएको थियो। तल्लोक्रममा साहब आलमले २५ बलमा २ छक्कासहित २१ रन बनाए।
सोमपाल कामी ३४ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए।
सुदूरपश्चिमका तीव्र गतिका बलर भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।
स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। विकाश आग्रीको नाममा १ विकेट रह्यो।
पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगि सकेको छ। आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ।
आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ। पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ।