धनगढी : भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा बनाइएको नेपाली चलचित्र काँडेतारको च्यारिटी सो हुने भएको छ ।
माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी सो हुने लागेको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी काँडेतार टिमले तयारीबारे जानकारी दिएको हो ।
यस्तै काँडेतार चलचित्र सोबाट सङ्कलन गरिएको रकम सहिद गोविन्द गौतम परिवारलाई दिने भएको छ । भारतीय अतिक्रमण र ज्यादतीको विरुद्ध आन्दोलन गरिरहेका बेला २०७३ फागुन २३ गते भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गौतकको ज्यान गएको थियो ।
भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा काँडेतार चलचित्र बनाएको भन्दै धनगढीको विशेष सोबाट सङ्कलन गरिएको रकम उनको परिवारलाई दिने निर्माता\निर्देशक नबल खड्काले जानकारी दिए ।
‘ २० गते हामीले धनगढीमा च्यारिटी सो गर्दै छौँ । त्यहाँबाट सङ्कलन भएर बचेको पैसा हामी गोविन्द गौतम परिवारलाई हस्तान्तरण गर्छौ’ निर्माता\निर्देशक खड्काले भने, ‘ हाम्रो चलचित्र सीमा रक्षाको लागि लागिरहने देशभक्तहरू प्रति समर्पित छ । ’
भूमि अतिक्रमण, सीमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या लाई चलचित्रमा चित्रण गरिएको छ ।उनले सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्ने अवस्था सृजना भएको बताए ।
४ करोड बढी लगानीमा तयार गरिएको चलचित्र फागुन २५ गते देशभर प्रदर्शन हुने भएको छ ।