धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका मेयर डिल्लीराज जोशीले नगरपालिकाको आवास छोडेर भाइको घरमा बसाई सारेका छन्। पालिकाको आफ्नै आवास हुँदाहुँदै मेयर जोशीले भाइको घरमा बसाई सरेर पालिकाबाट भाडा तिरिरहेको खुलेको छ।
उनले आफ्नो भाइको घरमा वार्षिक ४ लाख ९९ हजार ५ सय भाडा तिर्नेगरी सम्झौता गरेका छन्। यसरी जोशीले अधिकारको दुरुपयोग गर्दै पालिकाको बजेट अपचलन गरिरहेका हुन्।
पालिकाको निवास छोडेर भाइको घरमा बस्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले नगरकै आवास मर्मत गरेर बस्न सुझाएका थिए। तर, मेयर जोशीले मानेका थिएनन्। प्रमुख प्रशासकीय भने नगरकै आवासमा बस्दै आएका छन्।
उनले भाइको घर रंगरोगन तथा मर्मतको लागि समेत पालिकाबाट लाखौं रूपैयाँ भुक्तानी लिएका छन्। नगरपालिकाको आवास छोडेर भाइको घरमा बस्नको लागि पालिकाको बजेटबाट भाई घर मर्मत गरेका हुन्।
भाईको घर रंगरोगन तथा मर्मत एकिन खर्चबारे नगरपालिका लेखा अधिकृत पदमराज भट्टले खुलाउन चाहेनन्। उनले बिल भरपाईको फाइल नै खोल्नुपर्ने र आफूलाई मौखिक जानकारी नभएको प्रतिक्रिया दिए।
यस्तै नगरपालिका सूचना अधिकारी मिनराज ओझाले महेन्द्रनगर पोष्टसँग भने, ‘नगरपालिकाको आफ्नै आवास छ तर मेयर साप छुट्टै आवास लिएर बस्नुभएको छ। त्यसको भाडा र मर्मत खर्चको पनि पालिकाले नै ब्यहोर्ने सम्झौता भएको छ।
मेयर जोशी भने अहिले बंगलादेश भ्रमणमा छन्।