कैलाली : सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले लगाउने लोगो चौथोपटक फेरिने भएको छ। गत वर्षको पुस १५ गते पाँच लाख ५० हजार रुपैयाँ खर्चेर लोगो तयार गरिएको थियो। त्यो लोगोको स्वरूप ठिक नभएको भन्दै अर्काे तयार गर्न थालिएको हो।
नयाँ लोगो तयार गर्नको लागि नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूप सहितको प्रतिवेदन प्रस्तुत गरेको छ।
जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो।
दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो। यसअघि सुरुमा धातुको लागो निर्माण गरिएको भए पनि त्यसयता सुन र चाँदी जडित लोगो तयार गरिएको हो।
पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो। ५३ जना प्रदेश सभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाख भन्दा बढी खर्च गरिएको थियो।