कैलाली : सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले प्रदेशका विभिन्न अस्पतालको लागि ९ करोड २० लाखमा चारवटा फोहोरमैला व्यवस्थापन सिस्टम मेसिन खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो। सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको केन्द्रले २४ सेप्टेम्बर २०२३ मा सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको थियो। जसमा ६ वटा कम्पनीले भाग लिएका थिए। तर, ‘स्पेकलक’ गरेर ‘माफिया’ विशाल पण्डितको लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीले पाउने गरी खरिद मापदण्ड बनाइएको चर्चा चलेको छ।
केन्द्रले लाइफलाइन कम्पनीले मात्रै पाउनेगरी खरिद मापदण्ड बनाएर सूचना निकालेको आरोप लागेको हो। लाइफलाइन पण्डितको हस्पिटेकको सहायक कम्पनी हो। नीतिगत रुपमा भ्रष्टाचार गर्न खरिदमा स्पेकलक गर्ने गरिन्छ। केन्द्रले आर्थिक प्रस्ताव पनि खोलेर प्रक्रिया अगाडि बढाइसकेको छ।
यस विषयमा केन्द्रका निर्देशक डा.निरज अर्यालले खरिद संयोजक जयन्द्र बोगटीसँग बुझ्न भने। खरिद संयोजक बोगटीले भने आसयको लागि ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। सूचना प्रकाशित भएको ७ दिनभित्र प्रतिस्पार्धामा आएका अन्य कम्पनीले कार्यालय प्रमुखसँग उजुरी गरेबाहेक सम्झौताको लागि लाइफलाइनलाई १५ दिनको म्याद राखेर पत्राचार गरिने बोगटीले बताए। साथै उनले खरिद नियामावली अनुसार नै प्रक्रिया अगाडि बढेको बताए।
उनले बायोमेडिकल इन्जिनियर आसुतोष भण्डारीले बोलपत्रको मापदण्ड बनाएको बताएका छन्। स्रोतका अनुसार केन्द्रमा कार्यरत बायोमेडिकल इन्जिनियर भण्डारीले बोलपत्रको मापदण्ड बनाएका हुन्। उनले विशाल पण्डितसँगको मिलेमतोमा उक्त मापदण्ड बनाएको स्रोतको दाबी छ।
एक व्यवसायीले भने ‘स्पेकलक’ गरेर आफूहरुलाई प्राविधिक प्रस्तावमै आउट गरिएकोे बताएका आरोप लगाएका छन्।
लाइफलाइनले उक्त मेसिन खरिदको लागि भ्याटसहित ८ करोड २६ लाख ८४ हजार ३६० प्रस्ताव गरेको बताइएको छ।
उक्त मेसिनको मूल्य बढीमा ५२ लाखसम्म पर्ने एक व्यवसायले बताएका छन्। तर, प्रदेशमा कमिसनका लागि २ करोडभन्दा बढीमा एउटा मेसिन खरिद गर्ने सेटिङ भइरहेको उनको दाबी छ।