काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत हप्ता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबीच भएको कुटाकुटसम्बन्धी छानबिन र अनुसन्धान गर्न गठित समितिले घटनामा संलग्न डीएसपी रेवतीरमण पोखरेललाई अनुशासनको कारवाहीका निम्ति सिफारिस गरिएको छ।
सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले हिजो बुझाएको प्रतिवेदनमा डीएसपी पोखरेललाई कारवाहीका निम्ति सिफारिस गरेको हो।
कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरेको बुझिएको छ। सो
जवानहरु रविरञ्जन गुप्ता र राजकुमार महतोमाथि पनि अनुशासनको कारबाही गर्नुपर्ने ठहर छ। समितिले विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालयमा फिर्ता बोलाई विभागीय कारबाहीको सिफारिस गरेको स्रोतले बतायो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शुक्रबार प्रहरी र अध्यागमनका कर्मचारीहरुबीच कुटाकुट भएको थियो। दुबै पक्षले तीब्र दबाब दिएसँगै समितिले प्रतिवेदन बुझाएको हो।
अध्यागमन अधिकृत मोक्तानले प्रहरीको सुरक्षा जाँच अस्वीकार गरेपछि हानाहान भएको थियो।
प्रहरीहरुले सुरक्षा जाँचमा मोक्तानले असहयोग गरेको र अध्यागमनका कर्मचारीहरुले मोक्तानमाथि अनावश्यक रुपमा हातपात गरेको आरोप लगाउँदै आएका छन्।