धनगढी : दार्चुलामा १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ २५ गते देखि संञ्चालन हुने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको प्रतियोगिता व्यवस्थापन निर्देशन समितिको बैठकले यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महाकाली नगरपालिका–वडा ४ शिवनगर खेलमैदानमा संञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता यहीँ माघ २५,२६ र २७ गते तीनदिन शिवनगर खेल मैदानमा आयोजना गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिले जिल्लाका सबै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन आग्रह गरेको छ ।
प्रतियोगितामा खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा अनिवार्य ल्याउन निर्देशन जारी गरेको छ ।
यहाँका स्थानीय तहमा अहिले पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएर खेलाडीहरु छनोट भइसकेका छन । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र उसु संचालन हुनेछन् ।
पालिकाबाट छानिएका खेलाडीहरुबीच जिल्लास्तरीय प्रतियोगिता हुने र जिल्लाबाट पनि उत्कृष्ट भएकाहरु खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने व्यबस्था रहेको छ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत दार्चुलामा ६ बिधाका खेलहरु सञ्चालन हुने बताइएको छ ।