पोखरा – पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् ।
बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।
सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुसी उम्मेदवार उठाउने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो ।
वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस कार्यकर्ताले जिल्ला सभापति किशोरदत्त बराललाई कार्यक्रमस्थलमा प्रवेश नदिने बताएका छन् । मेयरका उम्मेदवार आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाट भने कार्यक्रमस्थलमै रहेका छन् ।