धनगढीः कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको एक युवकको मृत्यु प्रकरणको अनुसन्धान जारी छ।अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) समतेले सो घटनाको अनुसन्धान गरिरहेको छ।
अहिले काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा एक टिम खटिएर सो घटनाको अनुसन्धान जारी राखिएको बताइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार डोटी स्थायी घर भएका सिआइबीका इन्सपेक्टर जैसी अपराध अनुसन्धानमा काबिल अफिसर मानिन्छन्।
प्रदेश प्रहरी, जिल्ला प्रहरी लगायत इलाका प्रहरी कार्यालय मालाखेतीको टिम पनि सो अनुसन्धानमा सक्रिय छ। केही समय अगाडिमात्रै सो घटनाको अनुसन्धान गर्न प्रहरीको एक विज्ञ टोली खटाइएको थियो।
गत २५ पुसको राति अत्तरियाको न्यू सत्कार दोहोरी साँझबाट लफडा भएर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा अनुसन्धान तीब्र पारिएको हो।
सो घटनाको सिआइबीको टोलीसहित प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली, आरआइटी (सादा पोसाकवाला) सुदूरपश्चिमको टोली लगायतले व्यापक अनुसन्धान गरिरहेको बताइन्छ।
आफन्तले हत्या भनेको देउवा प्रकरणमा अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेको भएपनि कुनै छेउभेउ नपाएजस्तै देखिन्छ।
यस अगाडी नै सो घटनासँग सम्बन्धित रहेको भन्दै समातिएका ६ जना आरोपितहरुको पोलिग्राफ परीक्षण गरिएको थियो। तर त्यसबाट पनि केही रिजल्ट आउन नसकेको प्रहरी स्रोतकै दाबी छ।
अहिले प्रहरीको सिआइबी, विज्ञ टोली लगायत जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पनि घटनाको अनुसन्धानमा सघाइरहेको छ।
२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग विवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायकले मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए।
देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए। तर, देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए। देउवाले त्यहाँबाट फोन गरेपछि आफन्तले घर लगेका थिए।
त्यसपछि शरीरमा चोटपटक देखेर आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।
त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
र यो पनिः अत्तरियाको सत्कार दोहोरी साँझमा कुटपिटपछि देउवाको मृत्यु, ६ जना प्रहरी खोरमा
अत्तरिया दोहोरी साँझकाण्डको नालिबेली, सँगै भएको थियो दारुपार्टी
कञ्चनपुरका देउवा मृत्यु प्रकरणमा अनुसन्धान गर्न विज्ञ टोली परिचालन, ‘पोलिग्राफ टेस्ट’ सकियो