काठमाडौं-
‘अहाय-ए सियाह ज़ंगुई
देलम नकोन खुन
वाय टू राफ्टी कोजा
मनम चो मजनूं
जमाल जमलेक जमालू जमाल कुडु…‘ यो वर्षको चर्चित बलिउड चलचित्र ‘एनिमल’ को चर्चित गीतको टुक्का हो यो । चलचित्रका खलनायक बबि देवलको इन्ट्री हुँदा बज्ने यो गीत आजभोलि हरेक पार्टी तथा उत्सवमा बज्ने गर्छ ।
यही गीतमा नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा नाचेको भिडियो बाहिर आएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति पत्नीसमेत रहेकी आरजुले उक्त डान्स आफ्नो छोराको बिहेको पूर्व सन्ध्याका अवसरमा आयोजित संगीत कार्यक्रममा देखाएकी हुन् ।
हिजो(शुक्रबार) राति काठमाडौंंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा उनले अर्को ‘पारी त्यो डाडामा हेर घाम लाग्यो घमाइलो बोलको गीतमासमेत नृत्य प्रस्तुत गरेकी थिइन् ।
उक्त संगीत कार्यक्रममा दुलहा बन्न लागेका देउवा पुत्र जयवीर सिंह देउवाले पनि डान्स गरेका थिए । उक्त संगीत कार्यक्रममा देउवा परिवार निकटलाई निमन्त्रणा गरिएको थियो ।
जयवीरको भोलि (माघ २१) गते बिहे हुँदैछ । उनको बिहे सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो ।
बिहे बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ ।
बिहेमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।
त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइएको हो ।
प्रधानमन्त्री पदबाट हटेपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए। तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ उनी गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सरेका थिए ।
इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिव समेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।
जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ । जयवीर र शिवानाले लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेको बताइएको छ ।