काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसामु जीतका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरको मैदानमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको हो।
आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ७ चौका र १ छक्का हिर्काए।
७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए। सोमपालले ३९ रन बनाए।
आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।
Facebook Comments Box