दार्चुला – नेकपा एमालेले शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका बाहेक सबै स्थानीय तहमा पूरानै उम्मेदवार दोहोर्याएको छ । ०७४ सालको स्थानीय तहमा निर्वाचित भएका तथा उम्मेदवार भएर हारेकै उम्मेदवारलाई यो पटक पनि मौका दिएको हो ।
तीन वटा स्थानीय तह जितेको एमालेले तीनै ठाउँमा अध्यक्ष उपाध्यक्षमा पूरानै उम्मेदवार दोहोर्याएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडाल स्थानीय कमिटीकै सिफारिसको आधारमा पूरानै उम्मेदवार दोहोरिएका हुन् ।
नेपाली काग्रेसले गठबन्धनसँग मिलेर ०७४ कै सबै उम्मेदवार यो पटक पनि दोहोर्याएको छ । उपाध्यक्षमा गठबन्धनका कारण केही ठाउँमा परिवर्तन भएको बाहेक सबै पूरानै अनुहार यो पटक पनि उम्मेदवार बनेका छन् । पाँच वटा स्थानीय तह जितेको काग्रेसले पाँच वटैमा पूरानै उम्मेदवार यो पटक दोहोर्याएको छ । एक स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले गठबन्धन हुँदा पनि पूरानै उम्मेदवार दोहोर्याएको छ । गठबन्धन हुँदा थप तीन स्थानीय तहको प्रमुख पाएको माओवादीले त्यहाँ पनि ०७४ मा उम्मेदवार बनेर पराजीत भएका उम्मेदवारलाई प्राथमिकता दिएको छ ।
नेकपा एमालेले शैल्यशिखर नगरपालिकामा यो पटक नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । नगरपालिकामा प्रमुखमा विजयसिह धामी र उपप्रमुखमा शान्ति खडायत उम्मेदवार बनेका छन् । ०७४ मा एमालेले शैल्यशिखर नगरपालिकामा गंगादत्त जोशी र माधवी धामीलाई उम्मेदवार बनाएको थियो । शैल्यशिखर नगरपालिकामा काग्रेसले अमरसिह धामी र राजमती बम पाललाई नै उम्मेदवार दोहोर्याएको छ । यस्तै व्याँस गाउँपालिकामा पनि यो पटक एमालेले उम्मेदवार नयाँँ ल्याएको छ । एमालेले ६ महिना अघि काग्रेसबाट निर्वाचित वडाअध्यक्ष मंगलसिह धामीलाई नेकपा एमालेमा प्रवेश गराएर गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएको छ । भने उपाध्यक्षमा नेकपा हुँदा माओवादी केन्द्रबाट एमालेमा समायोजन भएका चन्द्रा कुवरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
०७४ को निर्वाचनमा व्याँसमा एमालेकातर्फबाट अध्यक्षमा दिलिपसिह डडाल र उपाध्यक्षमा तिरा कुवरलाई उम्मेदवार बनाएको थियो । मालिकार्जुन गाउँपालिका पनि एमालेले नयाँ अनुहारलाई प्राथमिकता दिएर उम्मेदवार बनाएको छ । एमालेले जिल्लाका अग्रज पत्रकार हिरासिह धामीलाई अध्यक्ष र उपाध्यक्षमा गौमती भट्टलाई उम्मेदवार बनाएको हो ।
०७४ को निर्वाचनमा एमालेले मोहनसिह धामीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । धामी नेपाली काग्रेसका उम्मेदवार नरेन्द्रसिह धामीसँग पराजीत भएका थिए । एमालेकातर्फबाट उपाध्यक्ष जितेका पुष्पा अवस्थी यो पटक उम्मेदवार बनेनन् । गठबन्धनको तर्फबाट काग्रेसले नरेन्द्रसिह धामीलाई नै दोहोर्याएको छ, भने उपाध्यक्षमा माओवादी केन्द्रबाट ०७४ मा अध्यक्षमा पराजीत हुनुभएका कल्यानसिह धामीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
सत्तारुढ गठबन्धनले व्याँसमा काग्रेसका दिलिपसिह बुढाथोकीलाई नै दोहोर्याएको छ भने माओवादी केन्द्रले महिलाको सट्टा यो पटक विनोदसिह कुवरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । कुवर शिक्षण पेशा छोडेर पहिलो पटक उपाध्यक्षमा उम्मेदवार बनेका हुन् ।अपिहिमाल गाउँपालिकामा एमालेले धर्मानन्द मन्याल र उर्मीला बोहरालाई उम्मेदवार दोहोर्याएको छ । सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका भगतसिह ठेकरे बोहरा र देवकी ठेकरेलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ । भगतसिह ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा र देवकी बोहरा काग्रेसबाट उपाध्यक्षमा उम्मेदवार बनेर पराजीत भएका थिए ।
मार्मा गाउँपालिकामा सत्तारुढ दल माओवादी केन्द्रले जमनसिह धामीलाई पुन उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा काग्रेसले सर्मीला सिंह नयाँ उम्मेदवार पठाएको छ । एमालेले अध्यक्षमा ०७४ को निर्वाचनमा पराजीत हुनुभएका देवसिह महरलाई पुन उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा परिवर्तन गरेको छ । एमालेले उपाध्यक्षमा राजमति धामीलाई उम्मेदवार बनाएको छ ।
नौगाड गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा प्रेमसिह धामी र उपाध्यक्षमा गौरीदेवी ठगुन्नालाई पुन दोहोर्याएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रले ०७४ सालको स्थानीय तहमा पराजीत दलजीतसिह धामी र उपाध्यक्षमा ०७४ मा काग्रेसको तर्फबाट अध्यक्षमा पराजीत हुनुभएका जगतसिह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।
लेकम गाउँपालिकामा एमालेले परमानन्द जोशी र माधवी जोशीलाई पुन उम्मेदवार बनाएको छ । ०७४ मा अध्यक्ष र उपाध्यक्ष जित हासिल गरेका अध्यक्ष उपाध्यक्ष यो पटक पनि दोहोरिएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रले ०७४ मा पराजीत भएका रामदत्त जोशीलाई अध्यक्ष र काग्रेसले उपाध्यक्षमा सुना जोशीलाई नयाँ अनुहार पठाएको छ ।
महाकाली नगरपालिकामा काग्रेसले हंशराज भट्ट र सुना बोहरालाई पुन उम्मेदवार दोहोर्याएको छ । एमालेले ०७४ मा पराजीत भएका नरसिह चैसिरलाई पुन उम्मेदवार बनाएको छ भने उपप्रमुखमा दुर्गा विष्ट नयाँ अनुहार पठाएको छ । दुहुँ गाउँपालिकामा गठबन्धनको तर्फबाट काग्रेसले पुलेन्द्र बहादुर कार्कीलाई पुन दोहोर्याएको छ भने उपाध्यक्षमा शान्ति बम नयाँ अनुहार उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने ०७४ मा पराजीत भएका नरेन्द्र बहादुर बडाल र उपाध्यक्षमा ताराकेशरी कुवरलाई नयाँ उम्मेदवार बनाएको छ ।
दुई जना पत्रकार चुनावी मैदानमा
दार्चुलाका दुइ जना पत्रकार चुनावी मैदानमा होमिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि प्रेस चौतारीमा आवद्ध पत्रकार चुनावी मैदानमा होमिएका हुन् ।
पत्रकार महासंघ दार्चुलाका संस्थापक, जिल्लाकै अग्रज पत्रकार हिरासिह धामी मालिकार्जुन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् । नेकपा एमालेकातर्फबाट धामी यो पटक गाउँपालिका उम्मेदवार बनेका हुन् ।
सामुदायिक रेडियो सारथि एफएमका व्यवस्थापक समेत रहनुभएका धामी जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । दुई दशक देखि गैरसरकारी संघसंस्था, सहकारी संस्था र पतञ्जली योग समिति सञ्चालन गरेर बस्नुभएका धामी पत्रकार महासंघ दार्चुला बैतडी शाखा हुँदा दार्चुलाका उपसभापति हुन् ।
जिल्लामा पत्रकारिताको सुरुवात गर्ने धामी एमालेको गत पौष २४ गते सम्पन्न भएको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यस्तै पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सन्तोष कोट्टारी मार्मा गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षका उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेले कोट्टारीलाई वडाअध्यक्ष उम्मेदवार बनाएको छ ।
जिल्लास्थित सामुदायिक रेडियो नयाँ नेपाल एफएमको समाचार प्रमुख रहेका कोट्टारी क्रियाशिल पत्रकार हुन् । एमालेले यो पटक जनवर्गीय संगठनबाट दुई जना उम्मेदवार बनाएको छ ।
शिक्षण छोडेर राजनीतिमा
सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माविमा अध्यापन गराइरहेका शिक्षक बिनोदसिह कुवर शिक्षण छोडेर राजनीतिमा होमिएका छन् । डेढ दशक देखि शिक्षणमा आवद्ध कुवर व्याँस गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्न शिक्षण पेशा छोडेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव रहेका कुवरलाई नेकपा माओवादी केन्द्रले व्याँस गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाएको छ ।