कैलाली– धनगढी उपमहानगरपालिकाका एक निबर्तमान वडाध्यक्षसहित ५७ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी ढंगले टिकट वितरण भएको भन्दै वडा नम्बर ४ का निबर्तमान वडाध्यक्ष दिपक थापासहित ५७ जना कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले विभेदपूर्ण व्यवहारबाट पीडित ईमान्दार, क्रियाशिल एवम् सक्रिय कार्यकर्ताहरुले पार्टीमा बसिरहनु उचित नरहेको भन्दै राजीनामा दिएको बताएका हुन् ।
निर्वाचनका लागि वडा नम्बर ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष र २२ जना सदस्य पदका लागि उमेदवारी दावी गरिएको थियो ।
यीमध्ये कसैसंग पनि आवश्यक छलफल नगरी वडा कार्य समितिले तीन जना अध्यक्ष पदका आकांक्षीको नाम सिफारिस गरेको र सदस्यको हकमा सम्पूर्ण दावेदारहरुको नाम सिफारिस गरिएको उनीहरुले बताएका छन् ।
२०७४ को चुनावमा बागी भई कार्वाहीमा परेको तर हालसम्म कार्वाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरेकोप्रति गम्भिर ध्यानाकर्षण निबर्तमान वडाध्यक्ष थापाले बताए । यति हुदाहुँदै पनि टिकट बितरण गर्ने निकायले कृयाशिल सदस्यहरुको मर्म तथा भावना विपरित बागी उम्मेदवारलाई नै अध्यक्ष पदको टिकट दिएकोमा असन्तुष्टि रहेको विज्ञप्तिमा उल्लेख छ ।