कञ्चनपुर : अस्ति(माघ २० गते) कञ्चनपुरको बेलौरीस्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नेपाली महिलालाई कुटेको खबर बाहिर आएको छ। भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा क्यारिङ गर्ने बेलौरी नगरपालिका–६ रिछाहाकी शान्ती रानामाथि पिल्लर नम्बर ८ र ७ को बीचमा कुटपिट भएको खुलेको हो।
स्थानीय व्यापारीको भनाइमा रानामाथि गालीगलौज गर्दै एसएसबीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रानाको पिठ्यु, कम्मर र खुट्टामा निनडाम बसेको छ।
उनीसँगै रहेका अन्य १४ जना महिला क्यारिङकर्तामाथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीले बताएका छन्।
उक्त घटनालाई उद्योग वाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर मिलाएका छन्।
बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टका अनुसार कुटपिट गर्नेलाई विभागीय कारबाही गरेर उपचारका लागि क्षतिपूर्ती दिने गरी घटना मिलाइएको हो।