धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई मोसो दलिएपछि कर्मचारीहरू आन्दोलित भएका छन्।
आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका हुन्। हिजो (सोमवार) अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले कालोमोसो दलेका थिए।
‘संविधानको मर्म र भावनालाई आत्मसात गर्दै दिन रात सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढदै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ। उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई सेवा प्रवाह गर्ने कार्यमा कठनाई भएको महसुस गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘कर्मचारीमाथि दुर्व्यवहार गर्ने दोषीमाथि कारवाही नहुँदासम्म यस्ता अराजक घटनाहरु बढ्दै जाने देखिन्छ। घटना घटाएको जिम्मा समेत लिएर अभिव्यक्ति सार्वजनिक गर्दा समेत यस्तो जघन्य घटना घटाउने कार्यमा संलग्न दोषि माथि कुनै कारवाही नहुनु गम्भिर विषय हो। सेवामा कर्तव्यनिष्ठ कर्मचारीको मनोबल गिराउने यस किसिमको कार्यप्रति घोर भर्त्सना गर्दछौ।’
घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कानून बमोजिम कारवाही गरी पीडितलाई न्याय दिलाउन कर्मचारीहरूले माग गरेका छन्।
‘आगामी दिनमा सम्पूर्ण कर्मचारीहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण सिर्जना गर्ने एवं भयरहित वातावरणमा सेवा प्रवाह गर्ने सुनिश्चितताका लागि हामी लम्कीचुहा नगरपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
उनीहरूले दोषीलाई कानून बमोजिम कारवाही नहुँदासम्म यस लम्कीचुहा नगरपालिका, वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु र आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र लम्की अस्पतालबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।
अधिकृृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको भन्दै मोसो दलेको थियो।
र, यो पनि :
कैलालीमा शिक्षा अधिकृतमाथी कालो मोसो