कैलाली– नेकपा एमालेले धनगढी नगर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले संकल्पसहित विभिन्न नीति तथा योजनासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
जनप्रतिनिधि शासक नभई जनताका सेवक बन्ने संकल्पसहितको प्रतिबद्धतापत्र धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना, जिल्ला इन्चार्ज नारदमुनि रानालगायतले संयूक्त रुपमा सार्वजनिक गरेका थिए ।
सामाजिक जागरण र विकासका अभियन्ता हुने, पालिकाहरु सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थगित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, जनप्रतिनिधिहरुले भ्रष्टाचार, अनियमितता र सार्वजनिक सम्पतिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने पार्टीको संकल्प रहेको छ ।
धनगढी उपमहानगरपालिकाको समग्र अवस्थाका बारेमा आधारभूत अवस्था सर्वेक्षण गरि २०७९÷०८० को पहिलो चौमासिक भित्र धनगढी उपमहानगरपालिकाको स्थितिपत्र सार्वजनिक गर्ने, राजश्व सुधार योजनाको कार्यान्वयनलाई निरन्तरता दिइने र सबै खालको कर प्रचलित कानुन बमोजिम कार्यान्वयनमा ल्याइने, नीति, योजना र कानुन निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
यस्तै गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, समुन्नत लोकतन्त्रको आधारः मेलमिलाप न्याय र मानवअधिकार, सूचना तथा सञ्चार आधुनिक विकासको आधार, पर्यटनबाट समृद्धि, विकास र वातावरणबीच सन्तुलन, निरोगी नेपाल, स्वस्थ्य नेपाली, सफा वस्ती र राम्रो आनीबानी, किसानको समृद्धि लगायत सो प्रतिवद्धता पत्रमा उल्लेख छ ।
प्रतिवद्धता पत्रमा सार्वजनिक गर्दै नगर प्रमुखका उम्मेदवार चन्दले प्रतिवद्धता पत्रमा उल्लेख सबै कुराको हुबहु कार्यान्वयनमा जोड दिने बताए । उनले धनगढीका मुख्य चहलपहल हुने क्षेत्रका सडक यथाशिघ्र कालोपत्रे गर्ने बताए । उनले सडक, यातायात, शिक्षा, स्वास्थ्य सुधार आफनो प्रमुख जिम्मेवारी रहने बताए ।