काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी–२० फ्रेञ्चाइज लिग आइएल टी–२० खेल्ने भएका छन्।
उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यसअघि उनले क्यानडाको ग्लोबल टी–२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो।
युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ।
उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। सम्झौतापछि ऐरीले गल्फ जायन्ट्समा आबद्ध हुँदा खुसी लागेको बताए।
उनी गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित भएको बताउँछन्।
‘यो एक ठूलो अवसर हो, र म टोलीको सफलतामा योगदान चाहान्छु। फ्रेन्चाइजले मेरो क्षमतामा देखाएको आत्मविश्वासलाई म मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार छु,’ उनले भने।