काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि दर्ता गरिएका उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।
वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन्।
उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि सत्तागठबन्धनले चुनावी तालमेल गरेको विरोधमा कांग्रेस कार्यकर्ताले विभिन्न ठाउँमा बागी उम्मेदवारी दिएका छन् ।