धनगढी : खप्तड राष्ट्रिय निकुञ्ज भित्र फुरु (तिल्याइलो रुखको गाँठोबाट बनाइने काठको भाँडा) काट्न गएका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार राति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने चारै जना पुरुष रहेको र उनीहरु हुम्लाको नाम्खा गाउँपालिका ३ का बासिन्दा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरु नाम र अन्य विवरण भने खुलाइएको छैन ।
खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं २ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वनक्षेत्रको हाँडेढुङाको खोलाको किनारमा उनीहरुलाई राति सात बजे तिर काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तीका सामान सहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट सानो खालको विद्युतीय आरा, नौ वटा तिलाइलो रुखको फुरु (गाँठो) चारवटा स्पिलिङ ब्याग, वासुलो नाम गरेको हृयामर, खाद्यान्नहरु, सलाई, लाईटर, र दुइ वटा विद्युततिय आराको ब्लेड लगायत बन्दोबस्तीका सामानहरु बरामद गरिएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए ।
बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पर्ने खप्तड निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रुपमा बिक्री वितरण हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निकुञ्ज प्रशाशन र सुरक्षा निकाय सक्रिय रहेको पौडेले बताए ।
फुरु (गाँठो) काट्ने निहुँमा अन्य जडीबुटी तथा वन पैदावार चोरी शिकार समेत हुने सम्भावना हुने भएकोले यस तर्फ निकुञ्ज प्रशासन चनाखो रहेको उनले बताए । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
तिल्याइलोको गााठोबाट बनेको फुरुको मुख्य बजार तिब्बत हो । तिब्बतीहरु यस्तो खालको काठको भााडोमा खानेकुरा खाँदा खानेकुरामा हुने विषाक्त तत्वहरु निर्मुल हुने विश्वास गर्दछन् ।
तिब्बती बजारमा फुरुको आकार र बनावट हेरेर प्रतिगोटा २० हजार देखी २० लाख सम्ममा विक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।