धनगढीः कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ।
धनगढी रंगशालामा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपाका ३० स्वर्ण, ६ रजत र ९ कास्य गरी ४५ पदक सहित उपाधि जितेको हो। प्रतियोगितामा २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो र ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित गोदावरी तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टीकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन्।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जनाएको छ। गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो।