धनगढी : नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले प्रहरीले पक्राउ गरेका पत्रकारलाई तुरुन्त रिहा गर्न आग्रह गरेको छ।
आज (शनिबार) सचिव राजेन्द्रप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूलाई रिहा गर्न आग्रह गरेको हो।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुंवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि ‘विद्युतिय कारोवार कसुर’ अन्तंगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाईका लागि सम्वन्धित पक्षसँग माग गर्दछौं। साथै हाम्रो माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा जाने जानकारी गराउदछौं।’
प्रहरीले पत्रकार भट्ट र कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो।
उनिहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए।