डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरा रहेका छन्।
उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत रहेको बुझिएको छ।
उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए।
उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत अन्यत्र ट्रान्सफर गरेका थिए।
अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए।
उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार धनबहादुरलाई ल्याउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायक आफैं बझाङ पुगेका थिए।
प्रहरीले उनलाई भोलि (आइतबार) सार्वजनिक गर्ने तयारी समेत गरेको छ।
प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ।
तर, टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो।
र, याे पनि :
डडेल्धुराको टेलिकमले बझाङका बोहरालाई लुटेपछि…