काठमाडौं : नेपालले एसीसी वुमन्स प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ।
मलेसियामा आइतवार बिहान भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको सहज जीत दर्ता गरेको हो। टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको नेपालले भुटानलाई ६५ रनमै सीमित बनाएको थियो।
६६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जीतमा सीता राना मगरले अविजित ३२ रन जोडिन्।
उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन्। यस्तै पूर्वकप्तान रुविना क्षेत्रीले २४ बलमा १–१ चौका र छक्कासहित अविजित १७ रन बनाइन्।
त्यसअघि कविता कुँवर ५ र कप्तान इन्दु वर्मा समान १ रनमा आउट भएका थिए।
यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनमात्र बनाउन सकेको थियो।
भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक र्विाधिक २५ रन बनाइन्। नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिएका थिए।
यस जीसँगै नेपालको २ खेलमा ४ अंक पुगेको छ। अब नेपालले मंगलवार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्नेछ। आज अर्को खेलमा हङकङ र माल्दिभ्स खेल्दैछन्।
उक्त खेलमा हङकङ विजयी भए नेपाल क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन्।
प्रतियोगिताको फाइनल पुग्ने २ टोली वुमन्स एसिया कपमा छनोट हुनेछन्।