धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।
उनकाअनुसार उनीहरुलाई केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन्। राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए।
मृतककी पत्नि सुशिला रानाले चौधरी र भण्डारीका नाममा पटकपटक किटानी जाहेरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय झलारीले इन्कार गरेको थियो।
प्रहरीले जाहेरी नलिएपछि सुशिलाले जिल्ला सरकारी कार्यालयमा जाहेरी दर्ता गराउन खोजेकी थिइन्। तर, वकिल कार्यालयले पनि जाहेरी दर्ता नगरेपछि उनले हुलाकमार्फत् सो कार्यालयमा जाहेरी पठाएकी थिइन्।
वकिलको कार्यालयले १६ माघमा हुलाकमार्फत् प्राप्त जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालयलाई सो जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो।
सरकारी वकिलको निर्देशनपछि २१ माघमा झलारी प्रहरीले सुशिलाको जाहेरी दर्ता गरेको थियो।
यस्तो थियो घटना !
असोज १९ गते साँझ पख। कैलालीको धनगढी नगरपालिका–१३ कैलारी गाउँका धोके रानालाई उनका साढुदाईको फोन आउँछ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बलमीका २५ वर्षीय राजकुमार रानाले अत्तालिँदै आफ्ना साढुभाई धोकेलाई भने – साढु मलाई ब्यूरो वालाले लखेटिरहेका छन्, म भाग्दै छु, विचवा पुगेर फोन गर्छु, मलाई लिन मान्छे पठाइदिनु।
१ मिनेटभन्दा कममैं राजकुमारको फोन काटियो। केही साता पहिले मात्रै सडक दुर्घटनामा परेर खुट्टा चलाउन नसक्ने अवस्थामा रहेका धोके राजकुमारको फोन कुरेर बसे तर फेरि राजकुमारले फोन गरेनन्।
भोलिपल्ट बिहान राजकुमारकै फोनबाट उनकी धर्मपत्नि सुशीलालाई ३ पटक फोन गयो। सुशीलाले फोन उठाउँदा अर्कोतर्फबाट कोही बोल्दैन थियो, मोबाइलमा टाइप गरेजस्तो आवाज मात्रै आउँथ्यो।
राजकुमारको फोनबाट उनका भान्जा कमल रानालाई पनि १ पटक फोन गएको थियो तर कमलसँग पनि कुराकानी नभएको सुशीला बताउँछिन्।
त्यसपछि राजकुमारको मोबाइल सधैंका लागि अफ भयो। र, त्यसको १ सातापछि २८ गते कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जंगलमा सडेगलेको अवस्थामा राजकुमारको शव भेटियो।
शव भेटिएपछि परिवारजनमा सुरु भयो राजकुमारको मृत्यु हत्या, आत्महत्या वा दुर्घटना के हो भन्ने चासो।
त्यसैबीच ९७६६३९३००१ बाट राजकुमारका सहोदर दाई मदन रानालाई फोन आयो। आफूलाई चेत भण्डारी बताउने व्यक्तिले फोन गरेका थिए।
भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो।
भण्डारीले अडियोमा राजकुमार मोटरसाइकल छोडेर जंगलमा पसेको बताएका छन्। ‘मोटरसाइकल सीआइडीले लगेको हुनुपर्छ’ भण्डारीले मदनसँग भनेका छन्।