काठमाडौं: नेपाल प्रहरीको डिआइजीमा बढुवा सिफारिस भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा गम्भीर आरोपसहित उजुरी परेको छ। उजुरीमा रेग्मीले पदको दुरुपयोग गर्दै अनैतिक र अमर्यादित क्रियाकलापमा संलग्न भएको दाबी गरिएको छ।
सिन्धुलीका युवराज सफलले सोमबार गृह मन्त्रालयमा दर्ता गराएको उजुरीमा रेग्मीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको र ती महिलाको निर्दोष श्रीमानलाई झुठो वैवाहिक बलात्कारको मुद्दा हाल्न लगाएको उल्लेख गरिएको छ।
“एसपीको रूपमा कार्यरत रहँदा रेग्मीले चरित्रहीन र विधि विपरीतका कार्यमा संलग्न भई पदीय मर्यादा उल्लंघन गरेका छन्,” उजुरीमा भनिएको छ। उजुरीमा ती महिलाको श्रीमान् दीपक थापामाथि झुठो मुद्दा चलाउन लगाएको र थापाकी आमासँग लाखौंको झुठो लेनदेनसम्बन्धी कागजसमेत बनाइएको दाबी गरिएको छ।
उजुरीमा भनिएको छ, “यस्ता अनुशासनहीन, नैतिकताहीन व्यक्तिलाई डिआइजीजस्तो जिम्मेवार पदमा बढुवा गर्नु कानूनी राज्यको अपमान हो। बढुवा समिति र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल निर्णय पुनरावलोकन गर्न माग गरिन्छ।”
युवराजले उजुरीलाई वेवास्ता गरिए पत्रकार सम्मेलनमार्फत रेग्मीका ‘काण्ड’ सार्वजनिक गर्ने चेतावनी दिएका छन्। साथै, बढुवा निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारीसमेत गरेको जनाएका छन्।
यसअघि पनि रेग्मीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा उजुरी परेका थिए। यद्यपि, हिजो मंगलबारमात्रै सार्वजनिक भएको बढुवा सूचीमा उनी चौथो नम्बरमा परेका छन्।
