धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालय संकटमा परेको छ। शैक्षिक सत्र २०८२ मा विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।
बालविकासदेखि कक्षा ३ सम्म पठनपाठन हुने यो विद्यालयमा हाल कक्षा १ मा दुई जना र कक्षा ३ मा दुई जना छात्र मात्र रहेका छन्। बाँकी कक्षामा विद्यार्थी शून्य रहेको विद्यालयका प्रधानाध्यापक रासबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार गत चैत महिनादेखि शिक्षक आन्दोलन चलिरहेकाले “अब विद्यालय नै बन्द हुने” भन्ने अफवाह गाउँमा फैलियो। यसकै कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएको बुढाको भनाइ छ। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला आन्दोलन चलिरहेको थियो, विद्यालय पनि लामो समय बन्द भयो। हामी अब स्थानीय सरकारले जे निर्णय गर्छ, त्यसलाई मान्न तयार छौं।’
विद्यालयमा तीन जना शिक्षक तथा कर्मचारी छन्। गत शैक्षिक सत्रमा समेत विद्यालयमा १९ जना मात्र विद्यार्थी अध्ययनरत थिए। यद्यपि, विद्यालयमा खानेपानी, शौचालय, भवन र खेलमैदान पर्याप्त छन्, तर विद्यार्थी नहुँदा विद्यालय सुनसान बनेको छ।
विद्यार्थी सङ्ख्या न्यून रहेको गुनासोपछि धनगढी–१४ का वडाध्यक्ष मानबहादुर विष्टले विद्यालयको अनुगमन गरेका छन्। उनले अनुगमनपछि भने, ‘विद्यालयको भविष्यबारे अब समायोजन गर्ने कि कुनै अन्य विकल्प अपनाउने भन्नेबारे उपमहानगरसँग छलफल गर्नेछौं।’