काठमाडौं – वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२% अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई उक्त आइपीओ जारी गरेको हो । त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद जेठ ८ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ८.२२% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई क्यापिटलको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुछ्रे बैंकको मादी शाखा कास्की, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।