कैलाली: ‘बदनाम भएर के बाच्नु, सरी दिदी ममी’ भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी शिक्षिका राजेश्वरी डडालका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय सुनाइएको छ। धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो।
जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए। मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको उनले बताए।
दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन्। उनी गत भदौँ ६ गते धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनी मार्मा गाउँपालिका–६ कै मामा नाता पर्ने जगदिश कोट्टारीसँग प्रेम सम्बन्धमा थिइन्। जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर धोका दिएको भन्दै उनले लेखेको सुसाइट नोटमा उल्लेख गरेकी थिइन्।
राजेश्वरीको मृत्युपछि भदौमै उनका बुवा राजेन्द्रसिंह डडालले जिल्ला प्रहरी कार्यालय कैलालीमा जगदिशविरुद्ध छोरीलाई आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए।
सम्बन्धित समाचार:
राजेश्वरीको ‘सुसाइड नोट’- बदनाम भएर के बाच्नु, सरी दिदी ममी