काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलको सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो।
आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग- २ मा ८ देश खेलिरहेका छन्।
जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।
क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको सुरुवात नेपालबाट हुँदै छ। आजदेखि काठमाडौंमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको सुरुवात गर्दै छन्।
आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुँदै छ। यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुँदै छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्वजनिक गरेको छ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो।
क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ। लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन्।