काठमाडाैं : सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले विदेशी बैंकमा १ अर्ब जम्मा गरेको आशंका अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छ। अकुत सम्पत्तिमा छानबिनमा रहेका पौडेलले आईटी क्षेत्रको खरिद प्रक्रियामा व्यापक कमिसन लिने गरेको, कम मूल्यको सामानलाई अत्यधिक धेरै देखाई खरिद गरी सोवापत पनि करोडाैं रुपियाँ असुलेर एक अर्बभन्दा बढी रकम कमाएको देखिएको अख्तियार स्रोतको दाबी छ।
पौडेलले अमेरिका, दुबई र सिंगापुरलगायतका विभिन्न बैंकमा १ अर्ब रुपैयाँभन्दा बढी जम्मा गरेको हुनसक्ने अनुमान गरिएको हाे। उनले सो रकमले अमेरिकाको न्युयोर्कमा रहेकी श्रीमती डा. एलिना बस्नेतको नाममा ७ करोडभन्दा बढी रकम तिरेर सुविधा सम्पन्न बंगला खरिद गरेको समेत पाइएको छ । उनले श्रीमती एलिनाको नाममा ६३७० तुलिपउड एल एन जेम्सभिल्ले, न्युयोर्क, १३०७८ अमेरिकामा घर खरिद गरेको पाइएको हो।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ८ लाख रुपियाँ अनियमितता गरेको आरोपमा पौडेलविरुद्ध गत वैशाख ३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
त्यसपछि पनि अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अकुत सम्पत्तिको छुट्टै मुद्दामा छानबिन गर्दै आइरहेको छ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पौडेल स्थायी बसोबास गर्ने गरी अमेरिकामा नै जाने तयारी गरिरहेका थिए । त्यस क्रममा पौडेलले विभिन्न समयमा अनियमितता गरी आर्जन गरेको एक अर्बभन्दा बढी रकम अमेरिका, सिंगापुर, दुबईलगायतका बैंकमा पुर्याएका थिए । अख्तियारले अकुत सम्पत्तिबारे छानबिन गरिरहँदा पौडेलले करोडौं नेपाली रुपियाँ विदेशका बैंकमा लैजाने क्रम जारी राखेको सूचना पाएपछि उनलाई माघ १० गते पक्राउ गरिएको थियो।
विशेष अदालतले पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका पौडेलद्वयलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिइएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो।