काठमाडौँ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए। त्यस्तै, गुलसन झाले २१ रन बनाए।
उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए। करण केसीले ३८ बलमा १६ रन बनाए। कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए। पवन शर्राफले १२ रन बनाए।
नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए। खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो।
कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए। तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने।
यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए। १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ब्रासेलको बलमा आउट भए।
त्यसपछि कुशल मल्ल १५ रन बनाएर जेरहार्ड इरासमसको बलमा आउट भए। नामिबियाको टोलीका कप्तान इरासमसले त्यसपछि सोमपाल कामी, भीम सार्की र गुल्सन झालाई आफ्नो शिकार बनाए।
नवौँ विकेटका रुपमा पवन शर्राफ जान निकोल लोफ्टी इटनको बलमा कप्तान इरासमसबाट क्याच आउट बने। करन केसी इरासमसकाे खेलमा पाँचौँ शिकार बने। इरासमसले पाँच विकेट लिएको पहिलो अवसर हो।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ।
पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ।