काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई विधान, पार्टीका नाम, झण्डा, छाप, पदाधिकारी, सदस्य, पार्टीको हिसाबसहितका विषयप्रति सचेत गराउँदै १५ बुँदे निर्देशन दिएको हो ।
आयोगले फागुन ४ गतेको निर्णयअनुसार बिहीवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएको भए ३० दिनभित्र जानकारी गराउन भनेको छ ।
आयोगले दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समितिलगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा योग्यता पुगे नपुगेको निर्क्योल गर्न र सदस्यता वितरणको अद्यावधिक गर्न पनि भनेको छ ।
यस्तै नियुक्ति र मनोनयन समावेशी सिद्धान्तअनुसार गर्न, दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने पनि भनेको छ ।
विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समितिलगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकैपटक आयोगमा पेश नगर्न पनि आयोगले निर्देशन दिएको छ ।
यस्तै आयोगबाट अद्यावधिक भएपछि मात्र त्यसका आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकका लागि पेश गर्न पनि भनेको छ ।
आयोगले आधुनिक नेपाल समाजवादी पार्टीलाई मौका दिएको जनाएको छ ।
‘सो पार्टीले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले आयोगबाट जरिवाना गर्ने निर्णय भएको तर साे जरिवाना हालसम्म पनि नबुझाएकाले बुझाउन एकपटक मौका दिइएको छ,’ आयोगले भनेकाे छ ।
अब पनि जरिवाना नबुझाएमा कानूनबमोजिम दल दर्ता खारेजको प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ ।