काठमाडौं : राजधानीका विभिन्न स्थानमा हप्ता असुली, गुण्डागर्दी र कुटपिटको घटनामा संग्लन रहेका ‘सानुभाई डन’ उर्फ युवराज गुरूङविरुद्ध मुद्धा दायर भएको छ।
नुवाकोट घर भई हाल टोखा बस्दै आएका ३३ वर्षीय सानुभाइसहित थोते भन्ने बिसु तामाङ, मार्शल भन्ने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भन्ने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो।
उनीहरूमध्ये विश्व र मार्शल पक्राउ परेका छन् भने अन्य फरार छन्।
गत माघ ६ गते ठमेलको छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइको समूहले छमबहादुर पुनमाथि आक्रमण गरेको थियो। जाहेरीमा सानुभाईको समूहसँग कुनै रिसइबी नभएको उल्लेख छ।
‘सानुभाइ हामी भएको ठाउँमा आएर मलाई ओइ त यता आइज काम छ भनी धम्कीपूर्ण खालका भाषाले बोलाएर केही पर लगे र उक्त सूमहले मलाई घेरा हालेर विभिन्न धाकधम्की देखाउँदै लात्ता मुक्का, हेल्मेट, नकसमेतले प्रहार गरी कुटपिट गरेका हुन्’, जाहेरीमा भनिएको छ।
सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन्।