काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीले फट्याइँ गरेका छन् । बैंकको महाराजगञ्ज शाखामा कार्यरत पाँचौ तहका पियन पुण्यप्रसाद अधिकारीले मृत्यु भैसकेका निजामती कर्मचारीको खाताबाट पेन्सन निकालेको पाइएको हो।
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका ५५ वर्षीय अधिकारीले नक्कली कागजात बनाएर विभिन्न व्यक्तिहरुको पेन्सन खाताबाट रकम निकाल्ने गरेका थिए।
मृतकहरु कृष्णबहादुर रोक्का क्षेत्री, निना शाही, तुल्सीमाया श्रेष्ठ, बद्रीबहादुर खड्का क्षेत्री, सुरेश्वर देवकोटा, माधव थापाक्षेत्री, सानुचा पोडे र गायत्री कुमारी कटुवालको रकम उनले निकालेको भेटिएको हो।
दस्तखत नमूना परिवर्तन गर्ने निवेदन दिएर आरोपी आफैंले रकम निकाल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए। उनलाई पक्राउ गरेर प्रहरीले बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।