धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन्।
जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो।
तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।
असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो।
त्यसबेला नेकपा एमालेले सरकार छोडेपछि अल्पमातमा परेका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेश मार्फत बजेट पारित गर्ने खोजेका थिए तर प्रदेश प्रमुखको साथ नपाउँदा अध्यादेश ल्याउने विकल्प समेत बन्द भएको थियो।
त्यसपछि साउन १८ गते सोडारीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए।