धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा पर्सि पनि सार्वजनिक बिदा दिइएको छ । मोहन्याल जात्राको अवसरमा फागुन ८ गते पालिकाभर बिदा दिने निर्णय गरिएको बताइएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा सो दिन नगरभित्रका सम्पूर्ण कार्यालय, संघसंस्था तथा शिक्षण संस्था बन्द रहने उल्लेख छ । भनिएको छ, ‘फागुन ८ गते मंगलबारका दिन पर्ने मोहन्याल जाँत (जात्रा)को उपलक्ष्यमा घोडाघोडी नगरपालिकाअन्तर्गतका कार्यालय, संघसंस्था तथा शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
सुदूरपश्चिम प्रदेशको डोटीबाट शुरु भएको यो जात्रा अहिले प्रदेशका अन्य जिल्लामा पनि मनाउने गरिएको छ । वर्षमा दुईपटक एकादशीका दिन मोहन्याल जात्रा र पूजा हुने गरेको छ । जैविक विविधताले भरिपूर्ण घोडाघोडीको सीमसार क्षेत्र प्राकृतिकसँगै धार्मिक पर्यटनका रुपमा प्रख्यात छ ।
भोलि राष्ट्रिय प्रजातन्त्र दिवसका दिन मुलुक र मुलुकबाहिरका कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिइएको छ ।