धनगढी : नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन्। थापा मंगलबार प्रदेशको आयुक्तमा नियुक्त भएका हुन्।
थापा यस अगाडि नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका तदर्थ समिति संयोजक थिए। अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ।
स्काउट के हो ?
सुदूरपश्चिमसहित देशभर सक्रिय स्काउट विश्वको सबैभन्दा ठूलो अनौपचारिक शिक्षाको अभियान मानिन्छ। यसको विश्वमा ७० मिलियन बढी स्वयंसेवक रहेको दाबी गरिएको छ भने यसले मुलतः बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्छ।
यसले सामाजिक, अध्यात्मिक, शारीरिक, बौद्धिक र भावनात्मक क्षेत्रमा कामहरु गर्दै आएको छ।
सुदूरपश्चिममा मात्रै यसको १२ हजार विद्यार्थी सदस्यहरु छन्। पछिल्लो समय स्काउटमा प्रदेशभर आकर्षण बढ्दै गएको भएपनि यसमा प्रदेश सरकारले भने आवश्यक लगानी गर्न सकेको छैन।
प्रदेश सरकारले समन्वय गरेर युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्न सके सामाजिक समस्याहरु निराकरणमा मदत पुग्ने स्काउटरहरुको विश्वास छ।
स्काउट अभियान तथा स्काउटर बढाउन सके शान्तिपूर्ण सुदूरपश्चिम तथा प्रदेशका सामाजिक विकृति, कुरिती एवं विभिन्न सामाजिक समस्यासहित लागुऔषधसमेत कन्ट्रोल गर्न मदत पुग्ने आयुक्त थापाको दाबी छ।