काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ।
एमाले सचेतक महेश बर्तौलाले अहिले केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए।
उनका अनुसार, बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ र त्यसको विरोधका लागि समय माग गरिएको छ।
फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय गर्ने आश्वासन दिएका थिए।
बालकुमारी घटनामा २ जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वालाको गाडी आगजनी भएको थियो।