काठमाडौं : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।
सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो।
उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ। काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ।
आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ।
आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो।
पानी पर्न रोकिएपछि हिजो बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।