धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछानेका तत्कालीन व्यवसायिक साझेदार रहेका जिबी राईका नामले चिनिने (गितेन्द्रबाबु) मलेसियामा लुकेर बसेको अनुमान गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा सहकारी ठगीका मुख्य नाइके राई मलेसियामा लुकेको पाइएको बताइन्छ।
यस्तै राइको सवालमा अर्को तथ्य पनि सार्वजनिक भएको छ। सहकारीको रकम हिनामिनाको आरोप लागेका राईले सन् २०१९ मै मलेसियामा अपार्टमेन्ट खरिद गरेका थिए। राईले मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापन्डनमा
हालको नेपाली सात करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको अपार्टमेन्ट खरिद गरेको जिबीनिकट व्यवसायीको दाबी छ।
अपार्टमेन्टबाहेक राईले मलेसियाकै अर्को सहर साइबरजयामा एक सपिङ मार्ट समेत सञ्चालन गरेको ती व्यवसायीको भनाई छ।
राईमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। राई गएको भदौदेखि नै मलेसिया बसेको प्रहरीको दाबी छ।
राईले पोखराबाहेक काठमाडौं, चितवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। उनीसहित हाल सहकारी सञ्चालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरूद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ।
डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्न थप प्रक्रिया प्रहरीले अगाडि बढाएको छ। मलेसियामै रहेको निष्कर्ष निकालेपछि प्रहरीले रेड नोटिसमा कन्भर्ट हुनासाथ इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउने तयारी थालेको छ।
सूर्यदशन सहकारी ठगी प्रकरणमा पोखरा प्रहरीले साउनदेखि अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा १९ जनाले सहकारीको रकम अपचलन गरेको खुलेको थियो। हाल उक्त मुद्दा अदालत पुगेको छ। १९ जनामध्ये हाल पाँचजनालाई भने जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। १४ जना अझै फरार छन्। सोही सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध समेत पूरक जाहेरी परेको छ।
पूरक जाहेरीबारे समेत कास्की प्रहरीले अनुसन्धान थालेकोमा काठमाडौं प्रहरीको सहयोगमा कास्की प्रहरीले माघ २४ मा काठमाडौंको शंखमुलस्थित राईको अर्को नेचर हब्स इन्टरनेशनल प्रालिको कार्यालयमा छापा मारेको थियो। उक्त कार्यालय पूर्वडीआईजी छविलाल जोशीको घरमा राखेका छन्।
जोशीले उक्त घर मासिक दुई लाख रुपैयाँ लिनेगरी २०७८ असारदेखि भाडामा लगाएको छ। प्रहरीले नेचर हब्स कार्यालयबाट सूर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको डाटा सुरक्षण मेसिन (सर्भर) बरामद गरेको छ। डाटाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पोखरा पुगेको छ।
यो पनि: रबिका पार्टनर जिबीसँग राष्ट्रपतिका सल्लाहकार कुँवरको कनेक्सन, प्रमाण मेटाईंदै