काठमाडौं : सर्ट भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय मान्न आलटाल गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केही सेवा प्रदायकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका अनुसार, ती संस्थाहरूविरुद्ध कारबाही प्रक्रियासमेत अघि बढाइएको छ ।
अन्य इन्टरनेट सेवा प्रदायकलाई समेत सचेत गराउँदै प्राधिकरणले अटेर गरे दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले कतै टिकटक चलिरहेको भए [email protected] खबर गरिदिन इन्टरनेट सेवाग्राहीलाई आग्रह पनि गरेको छ ।
‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्घभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिररहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी भएकोमा केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायकहरूलाई प्राधिकरणबाट स्पष्टीकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको हुँदा इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
सामाजिक सद्भाव विथोलेको भन्दै सरकारले पाँच महिनाअघि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।