काठमाडौं : नेकपा एमालेका युवा नेता ऐन महरलाई गरिएको कारबाही फुकूवाको तयारी भैरहेको छ।
यौन विचलनको आरोप लागेपछि एमालेले महरलाई सचिवालय बैठकबाट कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट हटाएको थियो।
महरले राजीनामा नदिएरै सचिवालय बैठकले उनको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गरेको थियो।
एमालेभित्र युवा जमादको कमान्डर र लोकप्रिय मानिने महरलाई कारबाही गरिएपछि आलोचना पनि भएको थियो। स्रोतका अनुसार उनलाई कारबाही भएको एक महिना नपुग्दै उनको कारबाही फिर्ताको तयारी भईरहेको बुझिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महरलाई पार्टीको नियमित काममा फर्किन निर्देशन दिईसकेको बताइएको छ। अध्यक्षले महरलाई चैतभित्रै कारबाही फुकुवा गर्ने समेत बाचाँ गरेको स्रोतको दाबी छ।
बझाङबाट एमालेको राष्ट्रिय राजनीतिमा उदाएका युवा नेता महरलाई कारबाही हानेपछि एमालेका बझाङी नेताहरु पटकपटक बालकोट धाईरहेका छन्।
शुक्रबारमात्रै अध्यक्ष ओलीको जन्मदिनमा बझाङ एमालेका युवाहरु दलबलसहित बालकोट पुगेका थिए भने नेता महर छोरीसहित त्यहाँ गएका थिए। सोही अवसरमा अध्यक्षले कारबाही फिर्ता गर्ने वचन दिएको बुझिएको छ।
ओलीले आफूले वास्तविकता बल्ल थाहा पाएको र जिल्लामा प्रतिनिधी सभाको चुनाव पनि अन्तरघातकै कारण पराजय ब्यहोर्नुपरेको कुरा आफूले जानकारी पाएको भन्दै महरलाई केन्द्रीय सदस्यको हैसियतमा पार्टीको काममा फर्किन निर्देशन दिएको बताइएको हो।
यसरी भएको थियो कारबाही
यौन विचलनको गम्भीर आरोप लागेपछि महरलाई यसअघि नै कारबाहीको चर्चा एमालेमा भएको थियो। तर अध्यक्ष ओलीसहित एमाले केन्द्रका नेताहरूको बलियो साथ पाएका महरमाथि कारबाही अघि बढेन।
‘पार्टीले कारबाही गर्नुभन्दा विकल्पका रूपमा तत्काललाई राजीनामाको विकल्प खोजेर ‘सेफ ल्यान्डिङ’ गराइएको हो’, एक नेताले भने, ‘पार्टीले कारबाही गर्दा अप्ठेरो हुने कुरा उहाँलाई भनिएको हो। पार्टी विधानको दफाअनुसार कारबाही भोग्नुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने नेतृत्वकै सल्लाहमा राजीनामा दिन लगाएर स्वीकृत गरिएको हो।’
गत मंसिरमा एउटा महिलासँगको अडिओ बाहिरिएपछि महरले आफ्नो आवाज नभएको जिकिर गरेका थिए। आफ्नो नाम जोडेर आएको अडिओलाई फेक भनेका उनले कानुनी उपचार खोज्ने पनि बताएका थिए।
तर, अडिओ बाहिरिँदै गर्दा उनी मेची-महाकाली अभियानमा जोडिएका उनी अभियानमै जोडिएर त्यसबेला झुलाघाटबाट डडेल्धुरा हुँदै केही जिल्ला पुगेर फर्किएका थिए।
त्यसबेला उक्त अडिओमा महरसँग सम्बन्धमा रहेकी भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’सम्म भनेकी थिइन्। त्यसपछि पुरुष आवाजले सम्बन्ध भएको स्वीकार्दै अब परिवारसँग मिलेर बस्न सुझाएका थिए। ती महिलालाई उनले सम्बन्ध विच्छेदमा नजान पनि भनेका थिए।
उक्त अडिओमा शारीरिक सम्पर्कपछि आवश्यक औषधि किनिदिन उनले आनाकानी गरेको भन्दै रोष पोखेकी थिइन्। ती महिलाले सम्बन्ध राखेपछि आफूलाई बेवास्ता गरेको भन्दै अडिओसहित घटना विवरण सार्वजनिक गर्ने धम्की नै दिएकी थिइन्।
र यो पनि !
एमाले सुधार्न ऐन महरले संघर्ष गर्ने
यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद !
केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा
ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी