काठमाडाैं : डडेल्धुराको अजयमेरु गाउँपालिकाका नरेन्द्र पन्त सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको स्नातकोत्तर तहमा अध्ययन गर्न आएका थिए। सोही क्याम्पसबाट स्नातक तह पास गरेका उनी दृष्टिहीन छन्।
विपन्न परिवारबाट भएकाले उनी सोही क्याम्पसको किर्तिपुरस्थित छात्रवासमा बस्दै आएका थिए। तर, उक्त भवन मेडिकल कलेजलाई दिइने भएपछि पन्तलाई जिल्ला विकास समितिको पूरानो भवनमा सारिएको छ। एकदमै जीर्ण अवस्थामा रहेको उक्त स्थानमा उचित बिजुली, खानेपानी तथा शौचालयको व्यवस्थापन समेत नभएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक रोशन भट्टले जानकारी दिए।
‘अहिले उहाँलाई एकदिन कटाउन मुस्किल पर्ने अवस्था छ। खानेपानी, शौचालय तथा असुरक्षित भवनमा बासस्थान दिएको छ। उहाँलाई अहिले डडेल्धुरा बहुमुखी क्याम्पसले बिचल्लीमा पारेको छ’ उनले भने। कोठा भाडामा लिएर बस्न नसक्ने अवस्था भएका पन्तलाई चिसो कोठामा व्यवस्थापन गरिएको उनले बताए। जसका कारण उनको हेरालुका रुपमा उनीसँगै रहेका काका बिरामी परेका छन्।
विभिन्न निकायमा गुनासो गर्दा पनि कहिँकतैबाट पहल नभएको नरेन्द्र पन्त बताउँछन्। ‘यो अपांगता भएका व्यक्तिप्रति गरिएको विभेद हो। क्याम्पस प्रमुख सर र स्ववियू सभापतिसँग पनि भने तर, कतैबाट पहल भएन’ उनले भने।
यता क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले भने उक्त विषयमा आवश्यक पहल भइरहेको बताएका छन्।
‘सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको डडेल्धुरा मेडिकल कलेजले क्याम्पसको छात्रवास लिने भनेपछि आर्थिक अवस्था बलियो हुने विद्यार्थीहरुले आफ्नो व्यवस्थापन गरे। हामीले सिडियो कार्यालय तथा अमरगढी नगरपालिकासँग समन्व्य गरेर उहाँ(नरेन्द्र पन्त)लाई जिविसको पूरानो भनवमा व्यवस्थापन गरेका हौं’ उनले भने, ‘तर त्यहाँ बिजुलीपानीको उचित व्यवस्थापन नरहेछ। म अहिले काठमाडौं छु। मैलै स्ववियूका भाइहरुलाई उनको समस्या समाधान गर्न भनेको छु। ४ वर्ष हामीसँगै बसेका उहाँलाई अन्याय किन गरौला र ? केही न केही व्यवस्था गछौं।’