काठमाडौं: सोमबारको घटना हो, काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी वर्षको बजेटबारे बोलिरहेका थिए। उनले बजेट कस्तो हुने भनेर बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिरहेका थिए। त्यही बेला लघुवित्त वित्तीय संस्थाका पीडितहरु झण्डै ५० जनाको सँख्यामा नाराबाजीसहित संसद भवन पसे। उनीहरु गेटमै रोकिएनन्, भित्रै परिसरमा प्रवेश गरेर नाराबाजी थाले।
सुरक्षाकर्मीहरुलाई पन्छाउँदै संसद बैठक स्थलतर्फ अगाडि बढेका उनीहरुलाई मर्यादापालक आएर रोके। लघुवित्तका ऋणीहरुले भुईंमै सुतेर नाराबाजी गरे, सांसदतिर चोर औंला उठाए। प्रहरीको थप फोर्स आएपछि ४८ जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेर तुरुन्तै सिहंदरबार वृत्तमा लगिएको थियो।
जसमा नेपाल प्रहरी र प्रहरी प्रमुखको सुरक्षा कमजोरी देखिएको संसद् सचिवालयको ठहर छ। जबकी त्यहाँ नेपाल प्रहरीको जम्बो टोली सुरक्षा व्यवस्थाका लागि तैनाथ हुन्छ। त्यसमाथि सम्भावित घटना र जोखिमबारे निरन्तर नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्त कुँवरलाई रिपोर्टिङ हुने गर्दछ। सो दिन पनि रिपोर्टिङ भएको थियो। तर, उनको कमाण्ड नै कमजोर भएकाले र संवेदनशीलताको अन्दाज नै नगर्दा सबै घटना भएको अधिकांश प्रतिनिधि सभा सदस्यहरुको बुझाई छ। प्रहरी प्रमुख आफैंले त्यसको सबै जिम्मेवारी लिनुपर्नेमा तल्लो दर्जाका आदेशपालक कर्मचारीलाई जहिल्यै हाकिम उम्किने परिपाटी पुरानै भएकोसमेत उनीहरुको भनाई छ।
सोमबारको घटनामा तत्कालै सभामुख देवराज घिमिरेले चासो राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक गरेका थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयले संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई फिर्ता गरेर नयाँ टोली पठाएको थियो।अनि, घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।सरकारले संघीय संसदको सुरक्षाका लागि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न निषेध गरेको छ। माइतीघरदेखि बानेश्वरसम्मको सडकलाई समेत प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र तोकिएको छ। तर लघुवित्तका ऋणीहरु कसरी संसद भवन पुगे भनेर छानबिन समितिले पत्ता लगाउला।
तर यो घटनाले संसद र प्रहरीको सुरक्षा व्यवस्थापन र कमाण्डमाथि भने गम्भीर प्रश्न उठाएको छ। गृहमन्त्रीले पनि सो घटनामा सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी भएको बताएका छन्।