धनगढी : नेपाली सेनाले ७० वर्ष उमेरभन्दा माथिका भूपू जति सबैलाई आवश्यकताअनुसार कृत्रिम दाँत फेरिदिने भएको छ । त्यसका लागि वार्षिक दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
चार चरणमा गर्न लागिएको कृत्रिम दाँत सेवा विस्तार अभियानको पहिलो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक तथा तिनका श्रीमतीलाई राखिएको छ । दोस्रो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक,श्रीमती र आश्रित परिवार तथा बहालवाला सैनिकका आश्रित परिवार र तेस्रो चरणमा ७० वर्षभन्दा माथिका भूतपूर्व सैनिक, श्रीमती र आश्रित परिवार तथा बहालवालाको आश्रित परिवार र चौथोमा ७० वर्ष माथिका भूतपूर्व सैनिक,श्रीमती र आश्रित परिवार तथा बहालवाला सैनिकका आश्रित परिवारको दाँत फेर्न लागिएको बताइएको छ ।
यसका लागि वार्षिक क्रमशः १० लाख,२५ लाख, १ करोड र २ करोड ५ लाख बजेट अनुमान गरिएको छ । पहिलो चरणमा एक सय, दोस्रोमा २५०, तेस्रोमा ७५० र चौथोमा १४५० जनाले दाँत फेर्ने आकलन छ ।
यसका लागि पूर्ण कृत्रिम दाँत सेटको हकमा प्रतिव्यक्ति अधिकतम १० हजार र आंशिक दाँत सेटको हकमा अधिकतम १५ हजार रुपैयाँ सैनिक कल्याणकारी निर्देशनालयले बिरामीलाई भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।