धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता हुन्, खगराज भट्ट। तर, तिनै भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा।
माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाए। त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य बिना मगरलाई सह-इन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन्।
सहइन्चार्जको जिम्मेवारी पाएकी बिना मगर प्रचण्डकी बुहारी हुन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका छन्। यता भट्टले पनि सामाजिक सञ्जालमा लेखेका छन्- ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’
स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यले सहइन्चार्जको जिम्मेवारी पाउने बेला खगराजले भने केही जिम्मेवारी पाएनन्। त्यसको सवालमा उनले लिखित असहमति नै सार्वजनिक गरेका छन्।
स्रोतका अनुसार उनले पार्टी नै छोड्ने गरि छलफल गरिरहेका छन्। जबकी प्रदेश सभा सदस्यको चुनाव लड्नु अगाडि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट पनि हटाइएका थिए।
तत्कालीन समयमा डडेल्धुराबाट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आशमा प्रदेश सभा सदस्य लडेर निर्वाचित भएका उनी अहिले पार्टी र संसदीय राजनीतिका कारण त्यो रेसबाट पनि आउट भएका छन्। केही माओवादी नेताहरुले भने खगराजले पार्टी छोड्ने तयारी गरेको समेत भन्ने गरेका छन्।
र, यो पनि:
खगराजका पद चैट, कसको हो सिध्याउने डिजाइन ?
देउवाको ‘आशीर्वाद’ले जितेका खगराजको मुख्यमन्त्री बन्ने ‘च्याप्टर क्लोज’