धनगढी: सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु छलफलमै रहेको बताउँदै समर्थन फिर्ता हुने जानकारी दिइन्।
उनले सुदूरपश्चिममा अहिले पनि समर्थन फिर्ता लिएजस्तै अवस्था रहेको भन्दै प्रदेशको हकमा निर्णय गरेर संसदीय दलले आफूलाई जानकारी गराउने बताइन्। यस्तै उनले आफूहरु केन्द्रमा पनि सरकारमै रहेको दाबी गरेकी छन्।
हाल केन्द्रमा एमालेसहितको नयाँ समीकरण बनेपनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार छ। तत्कालीन समयमा सुदूरपश्चिम सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टी भने सरकारबाट बाहिरिइसकेको छ।
संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएपछि समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हाे। यस अगाडी मुख्यमन्त्री शाहको क्याबिनेटमा रहेका माओवादी र समाजवादीका मन्त्रीहरु बर्खास्त पनि भैसकेका छन् भने नाउपाका मन्त्री यथावत छन्। तर नाउपाले पनि केही दिनमै समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारी गरिरहेको जनाएको छ।
योसँगै सुदूरपश्चिमको शाह सरकार अल्पमतमा परिसकेको छ। अहिले मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ र एक स्वतन्त्र गरेर २६ जना प्रदेशसभा सदस्यकाे मात्र समर्थन छ। जबकि सरकार जाेगाउन २७ जनाकाे समर्थन चाहिन्छ। यहीँ क्रममा नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ताको तयारी गर्दै छ।
सुदूरपश्चिममा ५२ जना सांसद छन्। जसमध्ये कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ जना छन्। राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।